Breaking News

उद्योगीहरूद्वारा सरकारले लिएको कर नीतिको चर्को आलोचना

काठमाण्डाै, १ असाेज । उद्योगी, व्यवसायीहरूले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए । उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दाबी गरे । उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यवहारिक कर नीति ल्याउन सरकारसँग माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गरे । उनले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुनेगरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए । करको सदुपयोग गरे मात्रै कर असुली पनि सहज हुने उपाध्यक्ष प्रधानको भनाइ छ ।

उद्योगीहरूले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दबाब दिँदै आएका छन् । उनीहरूले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन् ।

shares