Breaking News

निर्मलाका आमाबुबा न्याय माग्न बालुवाटार पुगे

काठमाण्डाै, १ असाेज । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त अधिकारकर्मीहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष साे माग प्रस्तुत गरेका हुन्  । घटनाकाे विवरण सुनाउँदै अामा  दुर्गादेवीले न्याय नपाएकाले अाफूहरू कञ्चनपुरबाट काठमाडौं आउनु परेेको बताइन् । उनले प्रश्न गरिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

भेटमा निर्मलाका आमाबुबाले प्रधानमन्त्री ओलीसँग भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । निर्मलाकी आमा दूर्गादेवी पन्तले यो हरेक नेपाली चेलीको समस्या भएको भन्दै यसको जडसम्म पुगेर कारबाही हुनुपर्ने बताइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिए । उनले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारे । घटनामा संलग्नहरूलाई कारबाही गर्न नयाँ समिति बनार्इ खटाएको बताउँदै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

अनुसन्धानको प्रक्रियामा ढिलोचाँडो हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले छिटोभन्दा छिटो अनुसन्धान गर्न आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको बताए ।  प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले निर्मलाका बुवाआमालाई दोषी पक्राउ पर्नेमा ढुक्क रहन आग्रह गरे ।

निर्मलाका बुवाआमासँगै प्रधानमन्त्रीलाई भेट्न कञ्चनपुरबाट आएका महिला अधिकारकर्मी तथा कञ्चनपुरका नेताहरू पनि बालुवाटार पुगेका थिए । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्दा समेत अपराधीलाई पक्रन नसकेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

shares