Breaking News

राष्ट्रियताको नाममा विश्वका राजनीतिज्ञ फासीवादतर्फ गइरहेको विश्लेषकहरूको आरोप

काठमाण्डाै, १ असाेज । विश्लेषकहरूले विश्वका राजनीतिज्ञ राष्ट्रियताको नाममा फासीवादतर्फ गइरहेको बताएका छन् ।

आइतबार साम्राज्यवाद विरोधी मोर्चाले राजधानीमा आयोजना गरेको दक्षिण एसियामा दक्षिणपन्थ र बढ्दो फासिवाद अन्तर्किया कार्यक्रममा बोल्दै विश्लेषकहरूले राष्ट्रियताको नाममा राजनीतिक नेतृत्व फासीवादतर्फ गइरहेको बताएका हुन् ।

कार्यक्रममा तुलसीदास महर्जनले पुँजीवादबाट फासीवाद जन्मेको बताउँदै यसलाई रोक्नुपर्ने बताए ।

“पुँजीवादबाट फासीवाद जन्मियो । फासीवादले साम्राज्यवादको रूप लियो । विश्वका राजनीतिज्ञले राष्ट्रवादको नारा दिएर फासीवादको रूप लिइरहेका छन्, यसलाई सबै मिलेर रोक्नुपर्छ,“ उनले भने ।वामपन्थी विश्लेषक हरी रोकाले सबैभन्दा पहिले भारतमा दलित, मुसलवान र महिलामाथि भएको भेदभाव भएको भन्दै त्यसको प्रभाव विश्वभरी नै परेको बताए ।

“सबैभन्दा पहिले भारतमा दलित, मुसलमान र महिलामाथि विभेद भयो, अहिले त्यसको प्रभाव विश्वभरी नै परेको छ । भारतीय जनता पार्टीले निर्वाचनमा गरेको वाचा पूरा गर्न सकेन । भारतीय प्रधानमन्त्री निर्वाचित तानाशाही हुन् । उनले मुलुकलाई फासीवादतर्फ लगिरहेका छन् । अहिले फेरि निर्वाचनको तयारीमा छन्,“ उनले भने ।

उनले गणतन्त्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव खड्क विश्वकर्मा पटकपटक समातिनु दुखद भएको भन्दै सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाए ।

“हामीले गणतन्त्र सबै जनताले समान अधिकार पाउन भन्नको लागि ल्याएका हौं,“ उनले थपे, “कसैलाई राष्ट्रपति, प्रधानमन्त्री धनी बनाउन ल्याएका होइनौं । सरकारले सत्ता र शक्तिको दुरुपयोग गरिरहेको छ । गणतन्त्रमा खड्क विश्वकर्मा पटकपटक समातिनु दुखद हो । वामपन्थी दक्षिणपन्थतर्फ लागेका कहाँनिर के हुन्छ थाहा हुँदैन ।”

कार्यक्रममा निमा शाहले जनतालाई ठूला–ठूला सपना देखाएर हुने खानेलाई पुरस्कारले सम्मान गरेको बताउँदै नेपालमा सच्चा कम्युनिष्ट नभएको बताइन् ।

“नेपालमा साम्राज्यवादी कम्युनिष्ट छन्”, उनले भनिन्,“जनतालाई ठूला ठूला सपना देखाएर हुने खानेलाई पुरस्कार बाँड्दैछन् । मैले पटकपटक कम्युनिष्ट नेताहरूलाई पनि सोधें, कम्युनिष्ट झुपडीको प्रतिनिधित्व गर्छ कि महलको, कसैले उत्तर दिएनन् । नेपालमा सच्चा कम्युनिष्ट छैनन् ।”

shares