Breaking News

ग्याँसको आपूर्ति ठप्प हुन सक्ने संघकाे चेतावनी

काठमाण्डाै, ३१ भदाै । नेपाल एलपी ग्याँस उद्योग संघले ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ ।

दसैं, तिहारजस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्याँस उद्योग संघले कुनै पनि बेला ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो । भारतीय ढुवानीकर्ताले माग गरेबमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै वस्तुमा मूल्य वृद्धि भएपछि ग्याँसको ढुवानीको खर्च बढ्ने भन्दै आफूहरूले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप पनि लगाए ।

संघले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्याँस ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानीकर्ताहरूले पठाएको पनि दाबी गरेको छ । अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको सो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाएपनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले चाडबाडका बेला बढी माग हुने भएकाले पनि ग्याँसको अभाव बढेर जाने पनि स्मरण गराए । सरकारले हालसम्म पनि नेपाली नम्बर प्लेटका ग्याँस बुलेटहरू संचालनमा ल्याउने कानुनी व्यवस्था गर्न नसकेकोमा संघको आपत्ति छ । अध्यक्ष भण्डारीले डिजेल, पेट्रोलको मूल्यवृद्धि, करको दायरा वृद्धि, बैंक ऋणको व्याजदरमा वृद्धिका कारण पनि ग्याँस उद्योग मारमा पर्ने अवस्था आएको उल्लेख गरे ।

shares