Breaking News

मौलिक हकसँग सम्बन्धित १५ वटै विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डौ, ३१ भदौ राष्ट्रियसभाको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न विधेयक पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोश्रो र तेश्रो बैठकले विभिन्न विधेयक पारित गरेको हो ।

दोश्रो बैठकले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले पारित गरेको छ । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’ लाई बैठकले पारित गरेको छ ।

यसैगरी कृषि तथा पुशपंक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेका ‘खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५’, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेका ‘आवासको अधिकार सम्बन्धी विधेयक, २०७५’ पारित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको ‘ भूमि सम्बन्धी(सातौँं संशोधन) विधेयक, २०७५’ पनि उक्त बैठकले पारित गरेको छ ।

त्यस्तै तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको ‘जातीय भेद्भाव तथा छुवाछुत( कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ४ गते बोलाइएको छ ।

shares