Breaking News

‘कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्ने’

काठमाण्डौ, ३१ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

कर्मचारी सञ्चय कोषको ५७ औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्ने भन्दै जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्ने जिकिर गरे । उनले कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने बताए ।

आवास सम्बन्धी विधेयक पारित भएको भन्दै अर्थमन्त्री खतिवडाले यसबाट आवासबिहीन रहेका विपन्न गरिबीकाे रेखामुनि रहेका जनता यसबाट प्रत्यक्ष लाभान्वित हुने जिकिर गरे । त्यस्तै उनले पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्नेमा जोड दिए।

हालसम्म कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८ दशमलव ३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको स्रोतमा रु दुई खर्ब ९२ अर्ब ६३ करोड जम्मा भएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले सबै क्षेत्रमा रोजगारी गरिरहेकालाई दायरामा ल्याउन लागिएको बताए ।

shares