Breaking News

निर्माण व्यवसायी महासंघको महासचिवमा गौतमको उम्मेद्वारी: भन्छन्- ‘क्षमता अनुसार व्यवसायीहरूले काम पाउनुपर्छ’

काठमाडौं, ३१ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसका लागि आफ्नो उम्मेदारी रहेको स्पष्ट पारे ।

उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तीब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएका त्रुटीहरूलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूहरू दुई दशकभन्दा बढी काम गरेको अनुभव रहेको सुनाउँदै गौतमले ५० वर्ष पहिले दक्षिण कोरियाले अवलम्बन गरेको विकासको मार्ग जसरी अघि बढ्नुपर्ने बताए । उनले निर्माण कार्य गुणस्तरीय नहुनुको पछाडि व्यवसायीहरूको मात्रै दोष नभएर निर्माण सामाग्रीहरूको कमसल लगायतका अरु थुप्रै कारण पनि हुन सक्ने सुनाए ।

विकासको मुख्य जिम्मा सरकारको भएपनि निर्माण व्यवसायी उद्योगको पनि उद्योग भएकाेले सरकार, विज्ञ, निर्माण व्यवसायी सम्बन्धित् पक्षसँगको बृहत्त छलफल गरी त्यसको आधारमा विकासका कामहरू हुनुपर्नेमा उनले जाेड दिए ।

त्यस्तै उनले सार्वजनिक खरिद ऐनमा रहेको कम मुल्यमा कबुल गर्नेले ठेक्का पाउने उल्लेखित व्यवस्थालाई सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले भने,‘यो व्यवस्थालाई सुधार गरियो भने गुणस्तरीय काम हुन्छ । मेरो यसमा धेरै जोड रहेको छ ।’

उनले अघि सारेका मुख्य एजेण्डाहरूमा निर्माण व्यवसायीहरूको क्षमता अनुसार काम पाउनुपर्ने र सरकार र निर्माण व्यवसायीहरूबीच स्थानीय तहदेखि केन्द्रसम्म बृहत्त छलफल तथा अन्तरक्रिया गरेर यस क्षेत्रका सबै समस्या समाधान गर्न सकिन्छ भन्ने रहेका छन् ।

shares