Breaking News

संचारमन्त्री बास्कोटा स्वदेश फिर्ता

काठमाडाैं, ३१ भदाै । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा दक्षिण कोरियामा आयोजित एशिया प्यासिफिक क्षेत्रका मन्त्रीस्तरीय बैठकमा भाग लिई आइतबार स्वदेश फर्किएका छन् ।

मन्त्री बास्कोटा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एशिया प्यासिफिक क्षेत्रका १२ वटा देश सहभागी मन्त्रीस्तरीय बैठकमा भाग लिई आइतबार दिउँसो स्वदेश फर्किएका हुन् । बैठकले विश्वमा प्रयोगमा आएका आधुनिक सूचना प्रविधिको प्रयोगका लागि एशिया प्यासिफिक क्षेत्रका राष्ट्रहरूबीच सहकार्य गरेर अघि बढने विषयमा छलफल केन्द्रित रहेको मन्त्री बास्कोटाले जानकारी दिए । बैठकमा जनस्तरमा सूचना प्रविधिको सहज पहुँच र आय वृद्धिमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

बैठकका क्रममा मन्त्री बास्कोटाले दक्षिण कोरियाका समकक्षी यू योङ मीनसँग भेट गरी द्विपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए । दक्षिण कोरियाको सूचना प्रविधि नेपाल भित्र्याउने विषयमा समकक्षी मीनसँग आवश्यक छलफल गरिएको मन्त्री बास्कोटाले बताए । त्यस क्रममा उनले समकक्षी मीनलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरेका थिए ।

shares