Breaking News

प्रतिनिधिसभामा मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

काठमाडाैं, ३१ भदाै । प्रतिनिधिसभाको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ र ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ पारित गरेको हाे ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गरेका थिए । विधेयक पारित गर्नुअघि सांसदद्वय सञ्जयकुमार गौतम र गगनकुमार थापाले बालबालिकासम्बन्धी विधेयक, २०७५ मा बालबालिका आयोग गठन, बालबालिका संरक्षण मापदण्डलगायत विषय छुट भएको जनाउँदै सच्याउन माग गरेका थिए ।

यता, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकारले अपराध पीडितलाई संरक्षण गर्ने उद्देश्यका साथ सो विधेयक प्रतिनिधिसभामा पेश गरेको थियो ।

सांसदहरूले उठाएका प्रश्नको उत्तर दिंदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले सिमित समयभित्र विधेयक पास गर्नुपर्ने भएकाले सरकारले अन्य समयमा विधेयकमाथि छलफल चलाउँदै संशाेधन गर्न सकिने जानकारी दिइन् ।

प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयनसम्बन्धी हालसम्म १५ विधेयक पारित गरेको छ । सदनबाट वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ पारित भएका छन् ।

यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी सातौँ संशोधन विधेयक २०७५ पारित भएका छन् भने अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ पनि पारित भएका छन् ।

संविधानमा असोज २ गतेभित्र सदनले मौलिक अधिकारसम्बन्धी विधेयक पारित गर्नुपर्ने बाध्यकारी अवस्था छ । सदनको अर्काे बैठक सोमबार अपराह्न १ बजे बोलाइएको छ ।

shares