Breaking News

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो जाँदा २ जनाको मृत्यु

रसुवा, ३१ भदाै । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको ज्यान गएकाे छ ।

मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै र रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएकाे सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी  दिएका छन् ।

टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित  १११ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरो टिपरमाथि खस्दा उनीहरूकाे मृत्यु भएको हो । उनीहरू सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू.ई.मार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र प्रवेश गर्न लागेका थिए ।

रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोक्का, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो सो दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई गएराति नै थप उपचारार्थ काठमाडौं पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ । सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनियाँ सी.डब्लू.ईको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत् आयोजनाले जनाएकाे छ ।

shares