Breaking News

सप्तरीमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न सांसदहरूकाे माग

काठमाण्डौ, ३१ भदाै । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरूको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरी र नमिताकुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरेका हुन् । सांसद तेजुलाल चौंधरीले स्वाईन फ्लूको महामारीबाट ४ जनाको ज्यान गइसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे । अर्की सांसद नमिताकुमारी चौंधरीले सो रोग नियन्त्रणका लागि आवश्यक चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गाकुमारी विश्वकर्माले पोखराकी १३ वर्षीया किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि सरकारसँग माग गरिन् । उनले बेगनास तालमा डुंगा दुर्घटनामा परी ज्यान गएका ८ जनाका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । यसैगरी सांसदहरूले बाढी, पहिरोले बगाएको सडक तत्काल निर्माण गर्न पनि सरकारसँग माग गरेका छन् ।

सांसद देवप्रसाद गुरुङले लमजुङको उत्तरीभेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गरे । सांसद पार्वत गुरुङले बहुवर्षीय योजनाको रूपमा रहेकोे सडक निर्माण कार्यलाई निरन्तरता दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिब ८ करोड बराबरकाे हजार र पाँच सय दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयसँग माग गरे । भुटानमा रहेको हजार र पाँच सय दरका भारतीय नोट सटही गर्ने भारत सरकारले नेपालको भने नसाटेकोमा उनको आपत्ति छ ।

नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरूको उचित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग माग गरे । अर्का सांसद पुष्पा भुसालले अर्घाखाँचीमा बाघका कारण १२ जना भन्दा बढीको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

shares