Breaking News

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेपाली कांग्रेस वीपीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति

काठमाण्डौ, ३१ भदाै । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेपाली कांग्रेस वीपीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दुवै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमति-पत्र सार्वजनिक गर्दै विज्ञहरूसँग छलफल गरेका छन् । सैद्धान्तिक सहमति-पत्र सार्वजनिक गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वर्तमान नेकपाको सरकारको अधिनायकवादी कार्यशैली र नेपाली कांग्रेसमा देखिएको सत्ता लिप्सा र आन्तरिक विचलनले जनता दिग्भ्रमित भएकाले जनतालाई न्याय दिन पार्टी एकता गरेर अगाडि बढ्न लागेको बताए ।

यस्तै नेपाली कांग्रेस वीपीका अध्यक्ष हरिबोल भट्टराईले वीपीको समाजवादी दर्शन अहिले पनि सान्दर्भिक रहेको तथा नेपाल धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुनपर्छ भन्ने आफ्नो पार्टीको सिद्धान्तमा दुवै पार्टीको विचार मिलेकाले एकता गर्न लागिएको बताए । सैद्धान्तिक सहमति-पत्रमाथिको छलफल कार्यक्रममा सहभागिता जनाउँदै विज्ञहरूले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने भएकाले दुई पार्टीबीच एकता हुनु स्वागत योग्य भएको बताए । छलफलमा भाग लिँदै सीमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सिमाना सम्बन्धमा पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताए ।

वर्तमान सरकारले सीमानाका विषयमा ध्यान नदिँदा निशान छापबाट कालापानी, लिपुलेक लिम्पीयाधुरा गायब भएको बताए । उनले नेपालको कुल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफलबाट ३ सय ७२ वर्गकिलोमिटर जमिन गायब भएको बताए । उनले पछिल्लो समय भारतले मात्रै नभई चीनले पनि नेपालको भूभागमा आँखा लगाउन थालेको भन्दै सर्तक हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थामा राजसंस्था विकल्पको रूपमा रहन सक्ने भएपनि ज्ञानेन्द्र र पारशको पछि लागेर राजसंस्था फर्कन नसक्ने ठोकुवा गरे । उनले राजनीतिक पाटीलाई मात्र जन्माउनु भन्दा पनि अहिले सम्मको उपलब्धीलाई संस्थागत गर्दै राष्ट्रिय रूपमा सामाजिक आन्दोलन गर्नुपर्ने बताए । वर्तमान सरकार तनाशाही शैलीको भएको भन्दै यो सरकारलाई सबै मिलेर समाप्त पार्नुपर्ने भण्डारीको भनाइ थियो । केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले न्यायको आशा गर्नु बेकार रहेको उनको भनाइ थियो । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिलेको संविधान सम्झौताको दस्तावेज भएको भन्दै यसमा सुधार आवश्यक रहेकाे बताए । उनले इजरायलको उदाहरण प्रस्तुत गर्दै इजरायलमा वैचारिक भिन्नता रहेपनि राष्ट्रिय मुद्धामा एक भएर उभिने गरेपनि नेपालमा त्यसो हुन नसकेको बताए ।

कार्यक्रममा डाक्टर जीवराज पोखरेल, जयराज आचार्य, रमेश ढुंगेललगायतले दुई पार्टीबीचको एकता सम्बन्धी सैद्धान्तिक पत्रमाथि टिप्पणी गर्दै दुई पार्टीबीच एकता हुनु सकारात्मक भएको बताएका थिए । सात बुँदे सैद्धान्तिक आधारपत्रमा राष्ट्रको आवश्यकता पूर्ति गर्न दुई दलबीचको एकतालाई अपरिहार्य मानिएको उल्लेख गरिएको छ । विदेशी धनको प्रभावमा नेपालको ५ हजार वर्ष पुरानो सांस्कृतिक जगलाई उखेल्ने प्रयास गरिएको भन्दै नेपाललाई धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र बनाउने भनिएको छ । वीपी कोइरालाको राजनीतिक र आर्थिक दृष्टिकोणलाई मौलिक अभियानको रूपमा लिने उल्लेख गर्दै पार्टीको जिम्मेवारी पूरा गर्न दुई पार्टी एक भएर अगाडि बढ्ने सैद्धान्तिक पत्रमा भनिएको छ । दुई पार्टीबीचको एकताले समाजिक र समावेशी आर्थिक व्यवस्था भ्रष्टाचार, अधिनायकवाद, नवसामन्तवाद र लम्पसारवादको विरुद्धमा आवाज बुलन्द बनाउन सकिने पनि सैद्धान्तिक सहमति-पत्रमा उल्लेख गरिएको छ ।

shares