Breaking News

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताकाे प्रत्यक्ष प्रसारण हिमालय टीभीले गर्ने

काठमाण्डौ, २९ भदाै । आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने गरी सम्झाैता भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले प्रसारण अधिकार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार टेलिभिजनले ३ वर्षसम्म नगद र खेल सामग्री गरी कुल ३ करोड ७० लाख रुपैयाँ पीपीएललाई प्रदान गर्नेछ ।

नेपाली क्रिकेटमा सबैभन्दा ठूलो राशीको प्रसारण अधिकार सम्झौता मानिएको यस सम्झौताअनुसार पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार भने हिमालय टेलिभिजनमा हुनेछ ।

खेलाडी अक्सनदेखि नै टेलिभिजनले पीपीएलको लाइभ अर्थात् प्रत्यक्ष प्रसारण सुरु गर्नेछ भने डिजिटल प्लेटर्फममा अनलाइनखबर डट कमको मोबाइल एपमा हेर्न सकिनेछ ।

कार्यक्रममा टेलिभिजनका अध्यक्ष भुसालले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न आवश्यक पर्ने सबै सामग्रीको व्यवस्था गरेर मात्रै सम्झौता गरिएको जानकारी दिए । उनले भने, ‘नेपाली क्रिकेटको विकास गर्नका लागि पीपीएलसँग सम्झौता गरेका छौं । लाइभका लागि सबै सामग्रीको व्यवस्था भइसकेको छ ।’

क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक लामाले प्रत्यक्ष प्रसारणको लागि हिमालय टिभीलाई धन्यवाद दिँदै अब छिट्टै खेलाडीको अक्सन हुने जानकारी दिए ।

कार्यक्रममा उपस्थित नेपाली क्रिकेटका कप्तान पारस खड्काले नजिकिँदै गरेको टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितालाई यसले टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले भने, ‘नेपाललाई चिनाएको सहर पोखरामा क्रिकेट हुने कुराले सबैलाई उत्साहित बनाएको छ । टि-ट्वान्टी विश्वकप नजिकिँदो अवस्थामा छ । पीपीएलले विश्वकप छनोटका लागि एकदमै मद्दत गर्नेछ ।’

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आगामी कार्तिक ९ देखि २० गतेसम्म प्रतियोगिता हुँदैछ । टी-२० फर्म्याटमा हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमले भाग लिने छन् ।

shares