Breaking News

नयाँ शक्तिको विरोध प्रदर्शन: प्रम ओली जोक्समा, जनता सबै शोकमा

काठमाडौं, २९ भदाै । नयाँ शक्ति पार्टी निकट दलित तथा अल्पसंख्यक विभागले देश व्यापी रुपमा दलितमाथि भइरहेको जातीय विभेदका घटना महिलामाथि भएको हिंसा हत्या र बलात्कारको घटनाविरुद्ध राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार राजधानीमा प्रदर्शन गर्दै नयाँ शक्तिको दलित तथा अल्पसंख्यक विभागले महिलामाथि हुने सबै खाले घटनाको विरुद्ध लाग्ने प्रतिवद्धता समेत गरेको छ ।

विरोध ¥यालीमा सहभागीहरूले ‘प्रम ओली जोक्समा जनता सबै शाेकमा, कञ्चनपुर हत्याको निष्पक्ष छानबिन गर, बलात्कारीलाई राजनीतिक संरक्षण बन्द गर जस्ता ‘प्ले कार्ड’ बोकेका थिए ।

विरोध कार्यक्रममा सहभागी नयाँ शक्ति पार्टी नेपालकी जिल्ला संयोजक मानुषी यमी भट्टराईले महिलामाथि हुने सबै खाले हिंसाविरुद्ध आफूहरूको आन्दोलन जारी रहने बताइन् ।

“विगतदेखि नै हामीले सरकारले गर्दै आएको राम्रो कामको समर्थन र नराम्रो कामको खबरदारी गर्दै आएका छौं । त्यसको निरन्तरतामा नै हामीले आज यो कार्यक्रमको आयोजना गरेका हौं । निर्मला पन्त हत्याको निपक्ष छानबिन होस् । राजनीतिक संरक्षण हामी सहने छैनौं । महिलामाथि हुने सबैखाले हिंसाको अन्त्य हुनुपर्छ, “उनले भनिन् ।

मानुषीले महिलामाथि हुने सबै खाले विभेद र सरकारले गर्ने नराम्रो कामकोविरुद्ध सँधै आफूहरूको आन्दोलन निरन्तर रुपमा जारी राख्ने जोड समेत दिइन् । ¥यालीमा सहभागी रेखा शर्माले पनि महिला र दलितमाथि हुने हिँसाको विरुद्ध आन्दोलन जारी राख्ने बताइन् ।

“सरकारले निर्मला पन्तको हत्यारालाई संरक्षण दिइरहेको छ, “उनले भनिन्, “दलितमाथि हिंसा भइरहेको छ, धारामा जान नदिने मन्दिर पस्न नदिने यस्तो प्रचलन नेपालमा भइरहेको छ यसको विरुद्धमा नै हाम्रो आजको प्रदर्शन हो । जबसम्म महिला र दलितमाथि हुने विभेद रोकिँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

विरोध प्रदर्शनमा सहभागी दलर्मदन कामीले महिला हिँसा र दलितमाथि भएको विभेदको घटनाबारे सरकारलाई ध्यानाकर्षण गराउन आफूहरू सडकमा आएको बताउँदै चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्ने बताए ।

विरोध ¥याली माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरमा पुगेर टुङ्गिएको थियो ।

shares