Breaking News

लगातारको वर्षाले लमजुङमा जनधनको ठूलो क्षति, मनाङसँग पनि सडक सम्पर्क टुट्यो

सृजना घिमिरे/लमजुङ, २९ भदाै । भीषण वर्षाका कारण लमजुङमा ठूलो धनजनको क्षति भएको छ । खोलाले बगाएर तथा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । १० जना घाइते भएका छन् ।

बाढीले बगाएर मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बेंसीकी ५५ वर्षीया ललितमाया गुरुङको मृत्यु भएको छ भने बाख्रा चराउँदै गर्दा बुधबार दिउँसो पहिरो आएपछि भाग्ने क्रममा ढुंगाले लागेर मर्स्याङ्दी ५ घर भई हाल मर्स्याङ्दी ५ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ । पहिरोले पुरिँदा मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरूपा थापा र उनकी ९ वर्षीया नातिनी सिरस थापाको पनि मृत्यु भएको छ ।

सोही स्थानमा बुधबार हराएका मर्स्याङ्दी गाउँपालिका ४, नासकुचेका अन्दाजी ५५ वर्षीय तुलसी भनिने राजु लामा अझै फेला परेका छैनन् । यस्तै, दोर्दीखोला जलविद्युत आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका ५ का ३० वर्षीय बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारूको अवस्था अज्ञात छ । उनीहरूलाई मर्स्याङ्दी नदीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिरोमा फसेका र घाइते सबैको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।

बाढी पहिरोका कारण चक्रिय अन्नपूर्ण पदमार्ग तथा सडक क्षतविक्षत भएको छ । सडक क्षतविक्षत हुँदा सवारी र मानिसको आवागमन पूर्ण ठप्प छ । बेंसीसहर ६, खरखरे पहिरोदेखि मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेसम्मको बाटोमा पहिरो जाँदा हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको छ । मनाङ र लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आधा भागमा खाद्यान्न ढुवानी पनि ठप्प छ । करिब २५ देखि ३० किमि सडक ठाउँठाउँ क्षतविक्षत भएपछि तत्काल मर्मत हुने सम्भावना क्षीण बनेको छ । बीचमै रोकिएका पर्यटक तथा सर्वसाधारणको प्रहरी र सेनाले उद्धार गरेको छ ।

अहिले खरखरेसँगै खुदी, भुलभुले, सिउरुङबेंसी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायत ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार डिभिजन सडक कार्यालय र मर्स्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाका एक्साभेटर र डोजरले पहिरो पन्छाएका छन् । ठाउँठाउँमा विस्फोटक पदार्थ प्रयोग गरी सडक बनाउनुपर्ने अवस्था रहेको ढकालको भनाइ छ ।

प्रजिअ ढकालका अनुसार बिहीबार बिहानै जिल्ला विपत व्यवस्थापन समिति, सुरक्षा समितिको बैठक बसेर खोज, उद्धार तथा क्षतिबारे बुझिएको र उद्धार गर्नुपर्नेको उद्धार भइसकेको छ । पहिरोले एउटा टयाक्टर, एउटा मिनी ट्रक, ३ जिप पुर्नुका साथै ३ मोटरसाइकल बगाएको प्रहरीले जनाएको छ ।

सेनाको हेलिकप्टरमार्फत् घाइतेको उद्धार गर्नुका साथै उक्त पहिरोको बिहीबार नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, गृहमन्त्रालयअन्तर्गत विपत् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे लगायतले निरीक्षण गरे । ‘बाटो तत्काल खुल्ने स्थिति छैन । केन्द्रीय तहमा पहल गर्छु,’ नेकपा नेता गुरुङले आश्वासन दिए ।

नेता घलेले उक्त सडक मनाङका लागि ‘लाइफलाइन’ रहेकाले यसलाई चाँडो खोल्न पहल गरिने बताए । करिब ६५ किमि बेंसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमि पर्छ ।

shares