Breaking News

चाेरिएका १४ माेटरसाईकल खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायाे

काठमाण्डौ, २९ भदाै । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाईकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । उनले मोटरसाईकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीहरूलाई अपिल गरे ।

यता हराएका मोटरसाईकल पाएकोमा खुसी व्यक्त गर्दै सवारी धनीहरूले पनि ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । कीर्तिपुरबाट ३ महिना अघि मोटरसाईकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाईकल भेटाइ दिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिए । उनको मोटरसाईकल ३ महिनाअघि कीर्तिपुरबाट हराएको थियो ।

ललितपुर ग्वार्कोका दिपक खड्काले पनि चोरी भएको २ महिनापछि मोटरसाईकल आफूले पाएकोमा खुसी व्यक्त गरे । उनले खोजी गरेर मोटरसाईकल बुझाएकोमा ट्राफिक प्रहरीको प्रशंशा गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै श्रावण र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ । त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख पन्तले जानकारी दिए ।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेको छ । सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरूलाई महाशाखाका प्रमुख पन्तले आग्रह गरेका हुन् । उनले चोरसँग ट्राफ्रिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

महाशाखाले चोरीको सवारी साधन खोजबिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।

shares