Breaking News

सुशासन र आर्थिक विकासलाई सरकारकाे उच्च प्राथमिकता: प्रधानमन्त्री

काठमाण्डौ, २९ भदाै । प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेकोे पनि दाबी गरे। उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा पनि जोड दिए । शुक्रबार काठमाडौंमा आयोजित एक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दाेहाेर्‍याए ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरूलाई पनि पुनः आह्वान गरे । नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे । उनले बन्द भएका उद्योगहरूको पुनः संचालन गर्ने योजना पनि अघि सारे । प्रधानमन्त्री ओलीले लगानी सुरक्षित हुँदैनकी भनेर चिन्ता नलिन पनि लगानीकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए ।

कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताएका थिए ।

shares