Breaking News

प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानबिन गर्न राजपाकाे माग

काठमाण्डौ, २९ भदाै । राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानबिन समिति बनाई यादवको मृत्युको घटनाबारे छानबिन अघि बढाउन माग गरे ।

घटनाबारे सत्य तथ्य बाहिर ल्याउन समिति बनोस् जाँचबुझ होस् भनेर पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको भन्दै उनले त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे । उनले भने “मुलुकमा दिनहुँ बलात्कार र हत्या भइरहेको छ संसदका माननीयहरूले हरेक दिन प्रश्न उठाइरहनुभएको छ तर सरकार गम्भीर छैन । प्रहरी हिरासतमा नै राम मनोहर यादवको हत्या भएको छ । प्रहरी हिरासतमै व्यक्ति हत्या हुन्छ भने अब कसले जिम्मेवारी लिने ? ”

बर्दियाका राममनोहर यादवलाई मन्त्रीलाई कालो झण्डा देखाएको नाममा नियन्त्रणमा लिने काम भएको भन्दै उनले भने “अब के गर्ने लठ्ठी देखाउने ? भाला देखाउने ? बन्दुक देखाउने ? आफ्नो विरोध प्रर्दशनका लागि उसले कालो झण्डा देखायो । प्रहरी हिरासतमै ७ गते देखि १६ गतेसम्म बस्दा व्यक्तिको मृत्यु भयो भने के कारणले मृत्यु भयो ? किन प्रहरीले मारे ? याे गृह प्रशासनको जिम्मेवारी हो कि होइन ? किन अवगत गराएन आजसम्म ?”

घटनाबारे सरकारको चित्त बुझ्दो जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उनले भने “लापरवाही र मानवअधिकार हनन यो देशमा हुन्छ भने यो संसदको कुनै औचित्य हुँदैन । त्यसकारण हामी आज यस संसद चल्न दिन्नौं । ”

कर्णले बोलिसकेपछि पनि राजपाका सांसदहरूले उभिएर विरोध जनाइरहेपछि सभामुखले त्यसबारे गृहमन्त्रीले जानकारी दिने कार्यक्रम रहेको बताएपश्चात् उनीहरूले आसन ग्रहण गरेका थिए ।

shares