Breaking News

निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीकाे जवाफ: ‘सरकार छानबिनको अन्तिम अवस्थामा पुगेको छ’

काठमाण्डौ, २९ भदाै । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानबिनको अन्तिम अवस्थामा पुगेको सदनलार्इ जानकारी गराएका छन् । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी कसैगरी पनि उम्कन नपाउने बताए ।

निर्मला हत्या प्रकरणमा सरकारको छानबिन जारी रहेको र गम्भीरतापूर्वक छानबिन भइरहेको उनले बताए । दाेषी पत्ता लगाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरूले अनुसन्धान गरिरहेको जानकारी दिए ।

छानबिन समितिमा रहेका सदस्य वीरेन्द्र केसीले केही दिनअघि अाफू असुरक्षित भएको भनी दिएकाे राजीनामाबारे सोधिएको प्रश्नमा गृह मन्त्रालयले सुरक्षा दिने बताएपछि उनले राजीनामा फिर्ता लिई छानबिन कार्यमा संलग्न रहेको मन्त्री थापाले बताए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको मन्त्री थापाले जानकारी दिए । अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको र पोष्टमार्टम प्रतिवेदनमा पनि चोटका कारण मृत्यु नभएको भनिएको उनले सदनलार्इ जानकारी दिए ।

त्यसैगरी, बाग्लुङका एक व्यक्तिको रहस्यमय रूपमा भएको मृत्युका बारेमा अध्ययन अनुसन्धान भइरहेको र यो हत्या नभएर आत्महत्या हो कि भन्ने निष्कर्षमा पुगेको उनले जानकारी गराए ।

रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय राजनीतिक नभई लेनदेनको विवादका कारण भएको उनले बताए । देवबहादुर घर्ती र रोहित मगरबीच विवाद हुँदा गोली प्रहार भएको र उपचारको क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए । देबवहादुरलाई गोलीसहित पक्राउ गरिएको र हाल जिल्ला अदालत रोल्पामा मुद्दा दायर भएको उनले बताए ।

पत्रकार राजु बस्नेतको पक्राउबारे सांसदले उठाएका प्रश्नकाे पनि मन्त्री थापाले जवाफ दिएका छन् । जनप्रतिनिधि कि जग्गा दलाल भनी पम्फा भुसाल र राजकाजी मर्हजनमाथि गलत आरोप लगाउँदै विद्युतीय कारोबार ऐन उल्लंघन गरेकोमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले जानकारी दिए ।

मन्त्री थापाले अाजै संघीय संसदको तल्लाे सदन प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको पनि जवाफ दिएका छन् ।

shares