Breaking News

निर्मला हत्या घटनाप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाण्डौ, २९ भदाै । राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् । उनले सो घटनामा संलग्न अपराधीलाई कानूनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छट्पटाउँदै हिँडने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाइ नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन् । उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यक्तामा पनि जोड दिइन्। राष्ट्रपति भण्डारीले बालमैत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भइरहेका यौनजन्य हिंसा, दुर्व्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानून निर्माणको काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरिन् । उनले बाल अधिकार हननका घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढन पनि आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले बालबालिका भोलिको सक्षम र योग्य नागरिक भएकाले उनीहरूको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको पनि बताइन् ।

shares