Breaking News

वीरगञ्ज महानगरपालिकाका मेयरले दिए पार्टीबाट राजीनामा

वीरगञ्ज, २९ भदाै । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।

संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित व्यापारिक पृष्ठभूमिका सरावगीले महानगरको कामकारबाहीमा अनावश्यक दबाब दिइएको भन्दै पार्टीबाट राजीनामा दिएका हुन् । ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका मेयर सरावगीले अब नेतृत्वलाई भेटेर पार्टीबाट राजीनामा-पत्र बुझाउने तयारी गरेका छन् ।

पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले आफूले पार्टीबाट अलग बस्ने निर्णय गरेको उनले बताए । मेयरको रूपमा जनताको हितमा काम गर्नु पर्नेमा पार्टीको हितमा काम गर्न पार्टीले दबाब दिएकाेले अलग हुने निर्णय गरेको उनले स्वीकारेका छन् ।

 ‘पार्टीबाट नगर प्रमुख भएपनि मेरो काँधमा सम्पूर्ण नगरबासीको जिम्मेवारी छ । वीरगञ्जका जनतालाई न्याय दिनुछ’ नगर प्रमुख सरावगीले भने ‘ऐन कानुनको अभाव, प्रक्रियागत समस्या र महानगरमा रहेका विकृतिहरूले गर्दा काम गर्न समस्या भइरहेको छ । स्रोत साधनको अभाव छ र तर पनि व्यापार व्यवसाय छोडेर म नगरबासीको हितमा काम गर्न प्रयासरत छु । यस्तोमा पार्टीबाट अनावश्यक दबाब आउँदा दुःख लाग्छ ।’

तर, फोरमका नेताहरूले भने मेयर सरावगीले एक वर्षमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै पार्टीभित्र व्यापक आलोचना भएको दाबी गरेका छन् ।

बुधबार बसेको पार्टीकाे वीरगञ्ज नगर कमिटीको बैठकले सरावगीलाई ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो ।

shares