Breaking News

न्याय माग्दै निर्मलाकाे बाबुअामा काठमाण्डौमा

काठमाण्डौ, २८ भदाै । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको आमाबुबाले हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्दै न्याय दिन माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारवाही गर्न माग गर्दै न्याय दिन माग गरेका हुन् । साक्षात्कारमा निर्मलाका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गरे ।

छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न आलटाल गरेको उनले आरोप लगाए । उनले आफ्नी छोरी निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधी बचाउन खोजेको गुनासो गरे । निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५०औँ दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौँ आएको बताइन् ।

निर्मलाका आमाबुबासँग काठमाडौं आउनुभएकी मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छे मात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाइन् । अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाइन् । निर्मला साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि उक्त घटना बाहिर आएको थियो ।

shares