Breaking News

सीमा अतिक्रमणतर्फ राज्यको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन

काठमाण्डौ, २८ भदाै । देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल भारत सिमामा भइरहेको अतिक्रमण रोक्नका लागि राज्य गम्भीर नभएको आरोप लगाएको छ ।

बिहीबार काठमाडौंको सुन्धरामा विरोध प्रदर्शन गर्दै मोर्चाले सिमामा भइरहेको अतिक्रमण रोक्नका लागि राज्यको ध्यानाकर्षण गराएको हो । मोर्चाले नेपालको केही भूभाग नै नभएको नक्सा प्रयोग भइरहेको भन्दै तत्काल नेपालको पूर्ण आकारको नक्सा सार्वजनिक गरी प्रयोग गर्न पनि माग गरेको छ ।

भारतद्वारा अतिक्रमित भूमि तत्काल फिर्ता गर्नुपर्ने र वास्तविक भूभाग सहितको नेपालको नक्सा प्रयोग गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरूले नारा लगाएका थिए । त्यस्तै उनीहरूले मुलुकभर भइरहेको महिला हिंसा र हत्याको घटना नरोकिएको भन्दै राज्य गम्भीर नभएको आरोप पनि लगाएका छन् ।

मोर्चाका संयोजक सिपी गजुरेलले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्नुपर्ने , नेपालको विभिन्न स्थानमा भएको सीमा अतिक्रमण रोकिनुपर्ने र जनता असुरक्षित हुँदा पनि अपराधी कारवाहीको दायरामा नआएकाले विरोध प्रदर्शन  गर्नुपरेको बताए ।

काडमाडाैंको सुन्धाराबाट सुरु भएको विरोध र्याली काठमाडौंको विभिन्न स्थान हुँदै पुनः सुन्धारामा पुगी कोणसभामा परिणत भएको थियो ।

shares