Breaking News

नेपाल – भारत सीमासम्बन्धी बैठक काठमाडौंमा बस्ने

काठमाण्डौ, २८ भदाै । नेपाल भारतको अन्तर्राष्ट्रिय सीमानासम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक काठमाडौंमा बस्ने भएको छ ।

दुई देशको अन्तर्राष्ट्रिय सीमानामा देखिएका समस्याबारे अध्ययन गर्न गठित उक्त समितिको बैठक अर्को हप्ता काठमाडौंमा बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उक्त बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमासम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपसँग छलफल गरेका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी रहेको छलफलमा बाउन्ड्री वर्किङ गु्रुपका सदस्यहरूले कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा अस्पष्ट भएकाे आदि समस्या प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल– भारत अन्तराष्ट्रिय सीमा सम्बन्धी समस्या समाधान गर्न गठित कार्य दललाई सचेत गराए ।। उनले सीमा विवाद भएको ठाउँमा अहिले जेजस्तो अवस्था छ, त्यस्तै अवस्थामा छाड्न उपयुक्त हुने सुझाव दिएका परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको एकीन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई निर्देश गरे । नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन प्रधानमन्त्री ओलीले नापी विभागसहित सम्बन्धितलाई निकायलाई निर्देशन दिए ।

shares