Breaking News

पत्रकारहरूलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने नेता नेपालकाे टिप्पणी

काठमाण्डौ, २८ भदाै । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरूलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

वरिष्ठ नेता नेपालले पत्रकारहरूलाई पक्राउ गर्ने, धरपक्कड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरूलाई निरुसाहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिएका हुन् । बिहीबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कानून बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने पनि स्पष्ट पारे ।

मुद्दा मामिला भए कानून बमोजिम पत्रकारहरूलाई पनि अनुसन्धान गर्न सकिने पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको भनाइ छ । तर निरुत्साहित हुने गरी पत्रकारहरूलाई दुःख दिने काम प्रहरीले गर्न नहुने पनि उनले स्पष्ट पारे ।

गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको विरोध गर्दै पत्रकार बस्नेतलाई तत्काल रिहा गर्न सरकारमाथि चौतर्फी दबाब परेको छ ।

shares