Breaking News

सम्पादक बस्नेतलाई पक्राउ गरेकोमा देउवाकाे आपत्ति

काठमाण्डौ, २८ भदाै । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्सर्ना गरेका हुन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए । उनले पत्रकारहरूलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनी सरकारलाई प्रश्न पनि गरे । सभापति देउवाले सरकारले पत्रकारहरूलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ पर्नु भएका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ । त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो । सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए ।

shares