Breaking News

 निर्मला हत्याबारे सरकारले भोलि जवाफ दिने, संसद अवरोध हट्याे

काठमाण्डौ, २८ भदाै । निर्मला पन्तकाे हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै बिहीबार संसद अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री ढकालले निर्मला पन्तको हत्याको घटनाबारे छानविन आयोग निर्माण गरिएको र त्यसको प्रतिवेदन आउन लागेको भन्दै उनले बैठकमा उठेका विभिन्न विषयको सम्बन्धित मन्त्रीले नै सदनमा जानकारी गराउने बताएका हुन् ।

पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना र त्यससंग जोडिएर आएका विषयबारे सरकारसंग जवाफ माग गरेको थियो । त्यसैगरी रोल्पा सुलीचौरमा रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको दोषीलाई कारवाहीको दायरामा ल्यान नसक्नुको कारण तथा खोजतलास साप्ताहिकका सम्पादकलाई बिना कारण गिरफ्तार गरिएको भन्दै त्यसबारे जवाफ माग गरेको थियो ।

प्रतिपक्षी दलले सम्बन्धित घटनामा जवाफ माग गरेपछि सरकारका तर्फबाट कानून मन्त्री ढकालले दोश्रो बैठकलाई सम्बोधन गर्दै त्यसबारे सरकारले जवाफ दिने प्रतिबद्धता जनाएका हुन् । उनले भने, “रोल्पा सुलिचौर गोलिकाण्डमा रोहित पुनको हत्या भएको घटना र खोज तलास साप्ताहिकका सम्पादकलाई गिरफ्तार गरी अमानवीय ढंगले व्यवहार गरिएको विषयमा प्रमुख प्रतिपक्षी दलबाट ध्यानाकर्षण भएको छ । यी घटनासंग सम्बन्धित भएका सबै अभियुक्तहरूलाई उचित समयमा सरकारले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता सरकारको तर्फबाट मैले यहाँ गर्न चाहन्छु र सम्बन्धित अन्य विषयहरूमा भोलि हुने संसदको बैठकमा सम्बन्धित मन्त्रीमार्फत दिने व्यहोरा सभामुख मार्फत संसदलाई जानकारी गराउन चाहन्छु । ”

मन्त्री ढकालले सरकारको तर्फबाट प्रतिबद्धता जनाएपछि दोश्रो बैठकको कारवाही अघि बढेको छ ।

shares