Breaking News

सुन चाँदी व्यवसायी आन्दोलित

खग प्रसाद चापागाई/कपिलवस्तु, ७ भदौ । सरकारले सहज तरिकाले सुन आपूर्ति नगर्दा आफ्नो पेशा व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुन चाँदी व्यवसायीले सुन चाँदी पसल तीन दिनसम्म बन्द गरी आन्दोलन  गर्ने भएका छन् ।

आन्दोलित जिल्लाभरका व्यवसायीले बिहीबारदेखि तीन दिनसम्म सुन चाँदी पसल बन्द गर्ने निर्णय गरेका छन् । जिल्लाको सदरमुकाम स्थित कपिलवस्तु सुन चाँदी व्यवसायी संघ, सुन चाँदी व्यवसायी संघ गोरुसिंङ्गे, बाणगंगा र चन्द्रौटाका प्रतिनिधिबीचको छलफलपश्चात् सो निर्णय लिइएको जनाइएको छ ।

आफूहरूलाई सरकारले सहज रूपमा सुनको आपूर्ति नगर्दा व्यवसायनै संकटमा परेपछि बाध्य भएर आन्दोलन गर्नु परेको कपिलवस्तु सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष नित्यानन्द बर्माले बताए ।

सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरेपनि सुन चाँदीको आवश्यक आपूर्ति तथा मापदण्ड तोक्ने विषयमा कुनै चासो नदिएपछि दबाबका लागि आन्दोलन गरिएको संघका केन्द्रिय सदस्य देवीप्रसाद बर्माले बताए ।

सुनको सहज उपलब्धता नहुँदा प्रतितोला ३ हजार बढी रकम तिर्नुपर्ने अवस्था सृजना भई उपभोक्तालाई भार तथा सुन कालो बजारियालाई प्रोत्साहन मिलेको उनको आरोप छ ।

shares