Breaking News

निर्मला पन्त हत्याको विरोधमा प्रदर्शन जारी, अशान्त बन्दै महेन्द्रनगर

कञ्चनपुर, ७ भदौ । निर्मला पन्त हत्याको विरोधमा आज पनि बिहानैदेखि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त बनेको छ ।

पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

बुधबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने र प्रहरीलार्इ दमनमा उतार्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थल वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका-१९ बागफाँटाका वर्ष ४१ का दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो । उनी मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले लुकाएको स्थानीयवासीको आरोप छ ।

shares