Breaking News

सडक अवरुद्ध हुँदा राजस्व संकलन प्रभावित

रसुवा, ७ भदौ । अविरल वर्षापछि खसेको पहिरोले सडक अवरुद्ध हुँदा राजस्व संकलनमा ठूलो असर परेको छ । सडक अवरुद्ध भएपछि भन्सार शुल्कसमेत प्रभावित भएको छ ।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिब ४८ करोड रुपैयाँ राजस्व स‌ंकलनमा असर परेको जानकारी दिए । साउन ११ गतेको वर्षाले क्षति पुगेको टिमुरे र रसुवागढी बीच घट्टेखोलाको पक्की पुल मर्मत ४५ प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

वर्षाले रसुवागढी, धुञ्चे–भार्खुबीचको त्रिशुली नदी छेउका दुई स्थानमा पहिरा गएका कारण नेपाल–चीन सिधा सम्पर्क टुटेपछि तीजलक्षित सौन्दर्यका सामाग्रीसमेत रोकिएको एकता व्यापार संघले जनाएको छ । चाडपर्वसमेत नजिकिँदै गर्दा सामान रोकिएकाले व्यापारीलाई मार परेको भन्दै छिटोभन्दा छिटो राजमार्ग चालु गराउन आग्रह गरिएको  संघका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताए ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले अवरुद्ध सडक छिटो खोल्न प्रयास जारी राखेको र विस्फोटक पदार्थ प्रयोगका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको बताए । सेनाको नीति निर्माण तहबाट ठोस जवाफ नआउँदा सडक खोल्ने काम केही दिन ढिलाइ भएकाले सेनालाई विशेष निर्देशनका लागि रक्षा मन्त्रालयमा अनुरोधसमेत गरेको उनको भनाइ छ ।

अवरुद्ध राजमार्ग चालु गराई भन्सारको कर असुली, पर्यटकको आवागमन, निर्माण सामग्री ढुवानी र बिरामी ओसारपसारमा सहजता ल्याउन सडक सञ्चालन गर्नु आवश्यक भएको र यसका लागि प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

पहिरो र नदीकटानबाट अवरुद्ध सडक पुनर्निर्माणका लागि नेपाली सेना परिचालन गर्न मन्त्रालयमार्फत् प्रक्रिया अगाडि बढिसकेकाले अबको एक\दुई दिनभित्रै राजमार्गको पहिरो व्यवस्थापन गरी सवारी साधान सञ्चालन गर्न नेपाली सेना कालिप्रसाद इञ्जिनियरिङ गणले स्थलगत निरीक्षणसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । -रासस

shares