Breaking News

युरिया मल नपाउँदा कृषकहरू समस्यामा

बाँके, ७ भदौ । कृषि सामग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसानहरू समस्यामा परेका छन् । धानखेतमा मल हाल्ने बेलामा मल नपाएपछि भारतीय बजारबाट तस्करी हुन थालेको छ ।

कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन युरिया मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ ।

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डीएपी र पोटास मात्रै छ ।  कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गरेका छन् ।

पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए । ‘किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन’, उनले भने ।  उनका अनुसार अनुसार भारतको कोलकातामा रोकिएको मल केही दिनमै भैरहवा हुँदै नेपालगञ्ज ल्याइनेछ ।

जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ मेट्रिक टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० मेट्रिक टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।

जिल्लामा सहकारीमार्फत् अनुदानको मल बिक्री हुँदै आएको छ।  जिल्लामा गतवर्ष १०३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेका थिए । कम्पनीले सहकारीलाई युरिया ७८३, डीएपी दुई हजार २३३, पोटास एक हजार ६३३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । आपूर्ति समितिको बैठकले उनीहरूको स्थान आधारमा भाडा निर्धारण गरेर बेच्दै आएका छन् । -रासस

shares