Breaking News

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार

रामेछाप, ७ भदौ । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । गएराति मन्थली नगरपालिका १ मच्छेडाँडीस्थित् आफ्नै निवासमा सुतिरहेको अवस्थामा उनीमाथि छुरा प्रहार भएको हो ।

राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको एक व्यक्तिले सुवेदीलार्इ छुरा प्रहार गरी फरार भएको जनाइएको छ । घटना घट्दा परिवारका अन्य सदस्यहरू भने घरको अर्को कोठामा रहेको बताइएको छ ।

गम्भीर घाइते भएका सुवेदीलार्इ तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

ओछ्यानमा पल्टिएर फेसबुक चलाइरहेको बेला मुखमा मास्क लगाएर आएको व्यक्तिले छुरा प्रहार गरेको सुवेदीले बताए । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरूले जानकारी दिए ।

घटनास्थलमा धारिलो छुरा फेला परेको छ भने घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

shares