Breaking News

नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा बालगोपाल

काठमाण्डौ, ६ भदौ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकका रूपमा सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको छ ।

आज दिउँसो बसेको एन्फाको आपतकालिन समितिको बैठकले भिषा समस्याका कारण टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल आउन नसक्ने भन्दै बालगोपाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

श्रम स्वीकृति बिना काम गर्दै आएका कोजीलाई अध्यागमन विभागले सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । कोजी गत जनवरी १७ बाट पर्यटक भिषामा नेपालमा बस्दै आएका थिए । पर्यटक भिषामा नेपालमा १ सय ५० दिनसम्म मात्र बस्न पाइने व्यवस्था भएपनि उनी लामो समयदेखि नेपाली टोलीको प्रशिक्षकका रूपमा नेपालमा बस्दै आएका थिए ।

इण्डोनेसियामा सम्पन्न एसियन गेम्स्पछि नेपाली टोली स्वदेश फर्किएपछि उनी भने त्यहींबाट जापान फर्किएका थिए । एन्फासँग उनको अनुबन्धन आगामी नोभेम्वरमा सकिने भएपनि साफ च्याम्पियनसिपको तयारीका लागि समय कम रहेको भन्दै उनको स्थानमा बालगोपाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा प्रवक्ता किरण राईले बताए ।

यही भदौ १९ देखि ३० गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली टोलीले भोलिबाटै प्रशिक्षण सुरु गर्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूह ए मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छन् ।

shares