Breaking News

कपिलवस्तुको योजनाबद्ध विकास हुन्छ: मन्त्री खनाल

खग प्रसाद चापागाई/कपिलवस्तु, ६ भदौ । कृषी तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बुद्धस्थल कपिलवस्तुको योजनाबद्ध रूपमा विकास सुरु गरिएको जनाए ।

नेपाल बाल संगठन, कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु विकासका लागि कुनै कसर नछाडिने बताएका हुन । सो अवसरमा बोल्दै मन्त्री खनालले कपिलवस्तुको पर्यटन प्रबर्द्धनका लागि आफूले दुईवटा योजना अगाडि बढाएको बताए ।

कपिलवस्तु विकासका लागि यस वर्षभित्रै डिपिआर निर्माण, ३ सय १० मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको सिंचाई र विद्युतीकरणको योजनासहितको नौमुरे जलविद्युत परियोजनाको कार्य थालनी, एकिकृत वाणगंगा सिंचाई आयोजना र तिलौराकोट विकासका लागि चक्रपथ निर्माणको योजना अगाडि बढाएको जानकारी दिए ।

कपिलवस्तु बाल गृह सञ्चालनमा संकट रहेको विषयमा बोल्दै उनले बाल अधिकार संरक्षणका लागि सरकारले ठोस योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे । सीमा क्षेत्रमा भारतीय बाँधका कारण वर्षेनी खेती योग्य जग्गा डुबान भएको विषयमा कुटनीतिक रूपमा छलफल अगाडि बढाइने उनको स्पष्टोक्ति थियो ।

कार्यक्रममा श्रोत अभावका कारण कपिलवस्तु बाल गृह संकटमा रहेको आयोजकले जनाएका थिए । बाल गृह निरन्तर सञ्चालनका लागि नियमित श्रोतको आवश्यकता पर्ने बताउँदै आफूले बाल गृहको नियमित श्रोतको आवश्यकता परिपूर्ति गराउन आवश्यक बजेट विनियोजनका लागि केन्द्रियस्तरमा पहल गर्ने मन्त्री खनालको प्रतिबद्धता थियो ।

shares