Breaking News

आयुर्वेद चिकित्सालय भवनको शिलान्यास नगरी बाटोबाटै फर्किए प्रधानमन्त्री

झापा, ६ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश स्तरीय आयुर्वेद चिकित्सालयको भवनको शिलान्यास नगरी फर्किएका छन् ।

प्रधानमन्त्री ओली सवार सवारीसाधन बाटो हिलो भएका कारण जान नसक्दा झापाको कमल गाउँपालिका ७ स्थित प्रदेश स्तरीय आयुर्वेद चिकित्सालय लखनपुरको भवनको शिलान्यास नगरी फर्किएका हुन् ।

५० शैयाको चिकित्सालयको सुविधा सम्पन्न भवनको शिलान्यास गर्न प्रधानमन्त्री ओली आउन लागेपछि आयोजकले तामझामका साथ भब्य तयारी गरेका थिए । तर, प्रधानमन्त्री ओली कार्यक्रम स्थल पुग्न नसक्दा भव्य तयारी त्यसै खेर गएको छ ।

करिब ७०० मिटर सडक खण्डमा दुर्इ दिन अघि माटो र ग्राभेल बिछ्याइएको थियो । बुधवार बिहान पानी परेपछि सो सडक खण्ड हिलो भएपछि प्रधानमन्त्रीको गाडी कार्यक्रमस्थल पुग्न नसक्दा बाटैबाट फर्किएको आयोजक समितिले जनाएको छ ।

आयोजकले रिमोट कन्ट्रोलबाट शिलालेखको शिलान्यास गर्ने ब्यवस्था मिलाइएको थियो । यता कार्यक्रम स्थल पुग्न नसकेपछि स्थानीयले प्रधानमन्त्रीलाई सडकैमा अभिवादन गरेका थिए ।

स्थानीयको पहलमा आर्थिक वर्ष २०६७/०६८ मा हस्ताक्षर संकलन गरेर लखनपुरमा आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । सोही माग बमोजिम नेपाल सरकारले बजेट छु्ट्याएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाममार्फत १७ करोड २९ लाख लागतमा चिकित्सालयको भवन बनाउन लागेको हो ।

७५ मीटर लम्बाई र ४५ मीटर चौडाईको अढाई तले भवन बनाउन रबिना खनाल जेभिले २२ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेको जनाइएको छ ।

shares