Breaking News

नागरिक ऐन संशोधन गर्न सभामुख महरासँग माग

काठमाण्डौ, ६ भदौ । राष्ट्रिय जागरण परिषद, नेपालले नागरिकता ऐन–२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परिषदले सरकारले हालै संघीय संसदमा पेश गरेको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराएको हो ।

परिषदले नागरिकसम्बन्धी विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ ।

राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सभामुख महराको गम्भीर ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिए । उनले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरूको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

यता, सभामुख महराले पनि नागरिकसम्बन्धी ऐन संशोधनका लागि परिषदले दिएको सुझावलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए । उनले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गराउने पनि बताए ।

परिषदले नेपाली नागरिक महिलाले विदेशी नागरिकसँग बिहे गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता विवाह भएको ६ महिनापश्चात् स्वतहः खारेज हुने कानुनी व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसँग राख्दै आएको छ ।

shares