Breaking News

कपिलवस्तुमा बकर-ईद मनाइँदै, महिलाको सामुहिक नवाज

खग प्रसाद चापागाई/कपिलवस्तु , ६ भदौ । मुलुकभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधाम संग मनाइएको छ ।

ईदकै अवसरमा कपिलवस्तु नगरपालिका २ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा मुलुकमा शान्ति र विकासको कामना गर्दै सामुहिक नवाज पढिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिका २ मा रहेको तौलिहवा ईदगाहमा मदरसा नैमुल उलुमका मौलाना अली हसन नजामीले धार्मीक विधि अनुरुप नवाज पढाएका थिए ।

त्यसैगरी कपिलवस्तु नगरपालिका ४ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ५ सय बढी महिलाले सामुहिक नवाज पढेका छन् । महिलाहरूलाई पर्दा लगाएर छुट्टै नवाज पढ्ने व्यवस्था गरिएकोले महिलाहरू बालबालिकासहित नवाज पढ्न मस्जिदमा पुगेका थिए ।

यसै अवसरमा मुस्लिम समुदायले जिल्लाको तौलिहवा, चन्द्रौटा, अभिराव, कृष्णनगर लगायतका स्थानमा रहेका ईदगाहमा गई नवाज पढेका छन् । मुस्लिम बाहुल्यता रहेको कपिलवस्तुमा मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरी घर घरमा खसीको बली दिएर सो पर्व मनाउँदै अाएका छन् ।

खसी, राँगा लगायतका पशुहरूको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्रसंग खुसी साँटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले आजदेखि तीन दिनसम्म मनाउने गरिन्छ ।

shares