Breaking News

कालिमाटी फलफूल तथा तरकारी बजार अाजबाट सुचारु

काठमाण्डौ, ६ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि सुचारु भएको छ ।

सोमबार सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार बिहानबाट पुनः सुचारु गरिएको हो । बजार खुलेपनि तरकारीको उपलब्धतामा भने उल्लेख्य कमी आएको छ । सरकारले आफू खुसी अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको भन्दै व्यापारीहरूले सोमबार दिउँसोबाट सो बजारमा फलफूल तथा तरकारीको बिक्री वितरण बन्द गराएका थिए ।

तर सरकारले दबाब दिएपछि उनीहरू पुनः खोल्न बाध्य भएका हुन् । कृषकहरूलाई मारमा नपार्न बजार पुनः सुचारु गरिएको व्यापारी सुवाषचन्द्र बेडारीले जानकारी दिए । उनले अनुगमनका क्रममा पक्राउ परेका व्यापारीको रिहा नभए पुनः बजार बन्द हुने चेतावनी पनि दिए ।

यसैबीच, कृषक कृष्ण पुण्यप्रसाद भट्टराईले तरकारी कृषकहरूका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार बिहान भेटिएका उनले कृषकहरूलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । भट्टराईले अनुगमन गर्ने तर कृषकहरूलाई सहयोग नगर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

व्यापारीहरूले अनुगमन गरेर नियन्त्रणमा लिएको तरकारीको क्षतिपूर्ति कृषकलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । सरकारी अनुगमनपछि बुधबार बिहानबाट तरकारी बजारमा मूल्यमा पनि केही कमी आएको छ । यता, सरकारले उपभोक्ता र कृषकहरूलाई मारमा पर्नेगरी बजार मूल्य बढाएको भन्दै नियन्त्रण गर्न सो फलफूल तथा तरकारी बजार अनुगमनमा कडाइ गरेको हो ।

shares