Breaking News

भाडाका ट्याक्सी चालकहरूले बुधबारदेखि ड्रेस लगाउनुपर्ने

काठमाण्डौ, ६ भदौ । काठमाण्डौमा भाडाका ट्याक्सी चलाउने चालकहरूले बुधबारदेखि ड्रेस लगाउनुपर्ने भएको छ ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ । एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारवाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

पन्तले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे । यात्रुलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राईभरलाई कानूनी कारवाहीको दायरामा ल्याइने उनले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रूपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरूलाई निर्देशन दिए ।

उनले पुर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसग माग गरे । माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरूलाई कारवाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले ध्यानाकर्षण गराए ।

सरकारले ट्राफिक कार्यालयहरू र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाण्डौ उपत्यकासंगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।

shares