Breaking News

मुस्लिम धर्मावलम्बीहरूबीच नेपालमा पनि बकर–इद मनाइँदै

काठमाण्डौ, ६ भदौ । बकर–इद, मुस्लिम धर्मावलम्बीले हर्ष र उत्साहका साथ मनाइरहेका छन् ।

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन् । इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् । उनीहरूले बिहानै काठमाडौको घण्टाघर लगायत विभिन्न स्थानमा रहेका मस्जिदमा गई सामूहिक नमाज पढेका छन् । नमाजपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

आजको दिन मुस्लिमहरूको लागि बिदा दिइँदै आएकोमा यो वर्षबाट बिदा काटिएको छ । तर प्रदेश १,२ र ५ मा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

shares