Breaking News

आज डोलेश्वरको चारै ढोका खुल्ला

भक्तपुर, ६ भदौ । वर्षको तीन दिन मात्र भक्तजनहरूको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शीर डोलेश्वर मन्दिरको आज चारैवटा ढोका खुल्ला गरिएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शीर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

आज यस मन्दिरमा आउने दर्शनार्थीहरूले आफ्नै हातबाट पूजा गर्ने व्यवस्था मिलाइएको उनले बताए । केदारनाथका पीठाधीश जगतगुरु श्री भीमाशङ्कर लिंग शिवाचार्यले २०६६ भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शीर भाग भएको घोषणा गरेपछि मन्दिरमा भक्तजनको भीड लाग्न थालेको हो ।

यस मन्दिर भक्तजनहरूका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ । पछिल्लो समयमा धार्मिक क्षेत्रका रूपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न भारत तथा देशका विभिन्न ठाउँबाट समेत भक्तजनहरू आउने गर्दछन् ।

मन्दिरमा आज बिहान ३ बजेदेखि नै दर्शनार्थीको भीड लागेको छ । साथै आज श्रावण १ गतेबाट सञ्चालन भएको श्रावणी मेला २०७५ आज समापन हुँदैछ ।

shares