Breaking News

नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको प्रम अोलीको भनाइ

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको बताएका छन् ।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राखे ।

प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने उनले बताए ।

प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । कूल रु एक करोड ५० लाखको लागतमा निर्माण भएको सो प्लान्ट जडान गर्न विश्व बैंक तथा ऊर्जा प्रबर्द्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ ।

shares