Breaking News

सरकारको ६ महिने कार्यकाल भाषणमै मात्र सीमित: कर्ण

काठमाण्डौ, ५ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रधानमन्त्रीको कार्यकाल भाषणमा मात्रै बितेको बताए । उनले कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको आरोप लगाए ।

फरक प्रसंगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूहरूले वाहवाही नगर्ने स्पष्ट पारे । मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई झुठा मुद्दा लगाएको बताउँदै उनले अझैसम्म पनि मुद्दा फिर्ता नगरिएको बताए ।

साक्षात्कारमा कांग्रेसका नेता जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरू माफियाहरूले चलाएको आरोप लगाए । सांसद देवले सरकारले सिण्डिकेट र सुन काण्डमा कति राम्रो गर्यो भन्ने देखिएपनि रिजल्ट जिरो आएको आरोप लगाए ।

नेकपाका नेता कानूनमन्त्री शेरबहादुर तामाङले सरकारलाई काम गर्नको लागि केही अप्ठ्याराहरू रहेको भन्दै अहिले सरकारलाई हिँड्न नदिइएको बताए ।

साक्षात्कारमा वरिष्ठ अधिवक्ता एवम् डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्व अध्यक्ष यदुनाथ खनालले पछिल्लो समय न्यायालयमाथि एकपछि अर्को हस्तक्षेपको श्रृंखला बढिरहेको गम्भीर आरोप लगाए ।

shares