Breaking News

लेखापढी व्यवसायीहरूले अब मालपोत कार्यालयभित्र आफ्नो कार्यालय राख्न नपाउने

काठमाण्डौ, ५ भदौ । लेखापढी व्यवसायीहरूले अब मालपोत कार्यालयभित्र आफ्नो कार्यालय राख्न नपाउने भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मालपोत कार्यालयभित्र भएका लेखापढी व्यवसायीको कार्यालय १५ दिनभित्र बाहिर सार्न निर्देशन दिएको जनाएको हो । त्यस्तै लेखापढी व्यवसायीहरूलाई आफ्नो सेवा प्रवाह कार्यालय बाहिरैबाट गर्न लगाउने मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमातहतका कार्यालयको सुधार कार्ययोजना सार्वजनिक गर्दै लेखापढी व्यवसायीहरूले अनिवार्य रूपमा परिचयपत्र लगाएर मात्र कार्यालयको सुरु बिन्दुसम्म मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।

जनतालाई छिटो छरितो सेवा र सुविधाहरू प्रदान गर्न मालपोत र नापी कार्यालयहरूमा आवश्यक पर्ने फारमहरूलाई सरलिकृत गरी अनलाइन सेवाहरूलाई प्रभावकारी बनाई सेवा विस्तार गरिने उनले जानकारी दिइन् । त्यस्तै कृषि योग्य जमिनलाई जोगाउनका लागि जनतालाई अप्ठेरो पर्ने व्यवस्थालाई मध्यनजर गर्दै कित्ताकाटको व्यवस्थामा निकास दिने बताइन् ।

उनले भूमिसम्बन्धी जोडिएका समस्यालाई पनि समाधान गर्दै लैजाने दाबी गरिन् । मुलुकको विकासमा सहकारीको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै सहकारीको विकासलाई पनि सरकारले प्राथमिकतामा राख्ने उनले जानकारी दिइन् ।

shares