Breaking News

प्रदेश ५ मा बुधबार सार्वजनिक बिदा, संघ अन्तर्गतका कार्यालय भने खुल्ने

दिनेश पाण्डे/बुटवल, ५ भदौ । मुश्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदमा प्रदेश ५ सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
विगतका वर्षहरूमा सरकारले बकर ईदमा बिदा दिंदै आएकोमा सार्वजनिक बिदा धेरै भएको भन्दै सरकारले यसवर्षदेखि बिदा कटौती गरेको थियो ।

प्रदेश पाँचका तराईका जिल्लाहरूमा मुश्लिम समुदायको बाक्लो बसोबास रहेकोले मुश्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केशीले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

यता प्रदेश अन्तर्गतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा गरिएपनि संघीय सरकार अन्तर्गत रहेका कार्यालय भने खुल्ने नखुल्ने अन्यौल रहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले संघीय सरकारले बकर ईदमा सार्वजनिक बिदा कटौती गरेको र प्रदेश सरकारबाट समेत कुनै जानकारी नआएको बताए ।

‘अहिलेसम्म केन्द्र सरकार र प्रदेश सरकारबाट समेत बिदाबारे कुनै जानकारी प्राप्त भएको छैन, प्रदेश सरकारबाट सार्वजनिक बिदा बारे कुनै जानकारी प्राप्त भए केन्द्रमा पठाउने र केन्द्रबाट बिदा दिने निर्देशन भए बिदा गर्ने छौं ।’ उनले भने ।

केन्द्रले बिदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंकको भैरहवा शाखा तथा अन्य बैंक तथा वित्तिय संस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन् । यसअघि पनि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते प्रदेश पाँच सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि संघ अन्तर्गतका कार्यालय भने खुल्ला गरिएका थिए ।

shares