Breaking News

मागअनुसार सुन नपाएपछि सुनचाँदी पसल बन्द

काठमाण्डौ, ५ भदौ । मागअनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल मंगलबार र बुधबार बन्द गर्ने जनाएको छ ।

संघले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष जीवनज्योति सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन गर्नुपरेको उल्लेख छ ।

सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । चाडबाडको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु परेको संघले जनाएको छ ।

‘पर्याप्त मात्रामा सुन नआएकाले ग्राहकलाई उपलब्ध गराउन सक्ने अवस्था छैन,’ विज्ञप्तिमा भनिएको छ । जिल्लामा करिब ५०० सुनचाँदी पसलमा सातामा ५ किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत २ किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन् । -रासस

shares