Breaking News

राष्ट्रियसभाले तीनवटा विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने

काठमाण्डौ, ५ भदौ । राष्ट्रियसभाले तीनवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा लैजाने प्रस्ताव पेश गरेकी थिइन् ।

त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

shares