Breaking News

बकर ईदमा सार्वजनिक बिदा दिन सरकारसँग सांसदहरूको माग

काठमाण्डौ, ५ भदौ । राष्ट्रिय सभाका सांसदहरूले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेकी हुन् । बकर ईद पर्व भोलि बुधबार मनाइँदै छ ।

सांसद बोगटीले दशैं जस्तै मुस्लिम समूदायको महान पर्व बकर ईदमा सार्वजनिक बिदा दिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौती गरेर गल्ती गरेको दाबी पनि गरिन् ।

त्यसैगरी सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले विभिन्न बहानामा कर वृद्धि गरिएको उल्लेख गर्दै फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरिन् ।

सांसद अनिता देवकोटाले वर्षातको मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरूमा पुल निर्माण गर्न सरकारलाई सचेत गराइन् । उनले दाङमा मापदण्ड विपरीत संचालनमा रहेका सिमेन्ट उद्योग हटाउन पनि सरकारसँग माग गरिन् ।

shares