Breaking News

प्रतिनिधिसभाद्वारा बिम्स्टेक महासन्धि अनुमोदन

काठमाण्डौ, ४ भदौ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागूऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदलिएको भन्दै सो सम्बन्धमा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्यको समान धारणा बनाउनका लागि महासन्धि जरुरी रहेको बताए ।

साङ्गठनिक अपराध र लागूऔषधको कारोवार नियन्त्रणका लागि अभिसन्धि जरुरी रहेको उनको भनाइ छ । महासन्धिले राष्ट्रिय मुक्ति आन्दोलनलाई हेर्ने विषयमा बाधा नहोस् भन्नेमा सरकार गम्भीर रहेको उनले उल्लेख गरे । उनले सरकारले खुला सिमानालाई नियमन गर्ने विषयमा विशेष ध्यान दिएको भन्दै विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा पहलकदमी लिने बताए ।

बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्याेट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । यसैगरी गृहमन्त्री थापाले नै प्रस्तुत गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

shares