Breaking News

एसियन गेम्समा नेपालको निराशाजनक नतिजा

निलम महर्जन/इण्डोनेसियामा जारी १८ औं एसियन गेम्स् अन्तर्गत आज सम्पन्न खेलमा नेपालले धेरै निराशाजनक नतिजा निकालेको छ भने थोरै मात्र उपलब्धि बनाउन सफल भएको छ ।

उसु खेलाडी निमा घर्ती मगरले एसियन गेम्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा अन्य खेलले निराशाजनक नतिजा निकालेको हो । जाकार्तामा आज सम्पन्न खेलमा निमाले थाउलोको नान्डोतर्फ ९ दशमलव एक सात अंकका साथ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । प्रतियोगिता अन्तर्गत हिजो भएको नानक्वानमा निमाले निराशाजनक प्रदर्शन गरेकी थिइन् । यससँगै, जारी एसियन गेम्समा नेपाली खेलाडीले बनाएको यो पहिलो राष्ट्रिय कीर्तिमान हो ।

यता, पौडीको फ्रिस्टाइलमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह र टिसा शाक्य हिट चरणबाटै बाहिरिएकी छिन् । महिला एक सय मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन् । उनले निर्धारित दूरी एक मिनेट आठ दुई मिलिसेकेण्डमा पूरा गरिन् । यता, सोही दूरी एक मिनेट ३ दशमलव नौ छ सेकेण्डमा पूरा गर्दै टिसा चौथो हिटको पुछारमा रहिन् ।

प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा तेक्वान्दोमा नेपालका सागर गुभाजु अन्तिम १६ मा प्रवेश गरेका छन् । पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका उनले भुटानका तेन्जिन दोर्जीलाई ५४-४० ले हराएका हुन् । उनले अब भियतनामका हङ भो क्वोकसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, तेक्वान्दोकै महिला ६३ केजी मुनि तौल समूहमा निमा गुरुङ र ६७ केजी मुनि तौल समूहमा संगिता बस्याल पहिलो चरणबाटै बाहिरिएका छन् । दुवै खेलाडी बाई पाएर अन्तिम १६ मा पुगेका थिए । यता, प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज भएको पुरुष टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भयो । प्रिक्वाटरमा पाकिस्तानलाई हराएको नेपालले ताइपेई विरुद्ध राम्रो प्रदर्शन गर्न सकेन । त्यस्तै, महिला टिम इभेन्टमा नेपाल पहिलो चरणबाटै बाहिरिसकेको थियो ।

१८ औं एसियाड अन्तर्गत आजै भएको वुमन्स् डबल्समा नेपालका जुम्लाहा दिदीबहिनी माहिका र मायांका राणाको जोडी प्रिक्वार्टर फाइनल प्रवेश गरेका छन् । माहिका र मायांकाको जोडीले माल्दिभ्सका अल माहिर र रसिद अब्दुलको जोडीलाई २-० को सेटमा हराए ।

shares